ट्रेन्डिङ

राहत प्याकेजविना सुख्खा क्षेत्र घोषणा गर्नु सरकारको नालायकीपन हो : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेज नल्याएको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

उनले राहतबिना सुख्खा क्षेत्र घोषणाले पीडितलाई थप पीडित बनाएको बताएका छन्। बारा जिल्लाको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा बोल्दै साहले भने, ‘मधेशमा जल संकटले सर्वसाधारणदेखि किसानसम्म समस्यामा छन्। सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठीक हो, तर के सरकारको काम केवल घोषणा मात्रै हो ? राहतको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो।’

साहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरमा घुमेर मधेशमा पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर तीन हप्ता बितिसक्दा पनि एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा ‘हावादारी गफ’ मात्रै भएको टिप्पणी गरे।

उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीको पाँच सय डिपबोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासँग खेलवाड गर्न पाइन्छ ?’ साहले प्रधानमन्त्रीले मधेशका जनतासँग भद्दा मजाक गरेको र विदेशबाट महँगो मिनरल वाटर मगाएर खाने तर यहाँका जनतालाई साधारण पानी नपाएर तड्पाएको आरोप लगाए।

अध्यक्ष साहले पीडित जनतालाई तत्काल राहत प्याकेजसहित दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। उनले अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेको, चापाकल र इनार सुकेको अवस्थामा पनि सरकारले गम्भीरता नदेखाएको बताए।

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका केन्द्रीय सदस्यहरू अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको पनि सहभागिता रहेको थियो। उनीहरूले जल संकटका कारण जिल्लाका किसान तथा सर्वसाधारण नागरिकले ठूलो कष्ट भोगिरहेको बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै