ट्रेन्डिङ

सुनकोशी–मरिन डाइभर्सन आयोजनामा ढिलाइ, मुख्यमन्त्री सिंह असन्तुष्ट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिन्धुलीको खुरकोटस्थित निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काममा भइरहेको ढिलाइप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

शनिबार आयोजना स्थलको निरीक्षणपछि उनले जुन गतिमा काम भइरहेको छ, त्यसरी त १० वर्षमा पनि आयोजना सम्पन्न नहुने चेतावनी दिए। मुख्यमन्त्री सिंहसँगै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवसहितको टोलीले आयोजनाको स्थलगत अवलोकन गरेको थियो। यो आयोजनाले मधेश प्रदेशका पाँच जिल्लामा कृषि सिँचाइमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

मुख्यमन्त्री सिंहले निर्माण कम्पनीलाई कामको गति बढाउन तत्काल चेतावनी दिँदै यस विषयमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने तयारी भएको बताए। उनले भने, ‘हामीले अब स्थलगत रूपमा सबै कुरा बुझेका छौं। प्रदेश सरकारको तर्फबाट प्रतिवेदन तयार पारेर संघ सरकारलाई बुझाउनेछौं।’

आयोजना प्रमुख अच्युतराज गौतमका अनुसार, सुरुङ निर्माणको काम चिनियाँ कम्पनीले समयमै सम्पन्न गरे पनि मुख्य ठेकेदार ‘पटेल रमण जेभी कन्स्ट्रक्सन’ले सम्झौताको आधा अवधि बित्दासमेत जम्मा १० प्रतिशत मात्र काम गरेको छ।

ऊर्जा मन्त्री शेषनारायण यादवले आयोजना मधेशको कृषि र खानेपानी सुरक्षासँग जोडिएकोले कुनै पनि हालतमा समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए। उनले भने, ‘लाखौं कृषकको भविष्य यस आयोजनासँग गाँसिएको छ। अब ढिलाइ सह्य हुने छैन।’

यता, निर्माण कम्पनीका प्रतिनिधि नवीन चौधरीले भने निरन्तर वर्षा, माटोको बनावट, स्थानीयको माग र सामाजिक–राजनीतिक कारणले काममा ढिलाइ भएको स्वीकार गरेका छन्। उनले वर्षा सकिएपछि कामले गति लिने दाबी गरे।

झन्डै ५० अर्ब रुपैयाँ लागतको यो आयोजनामा हालसम्म १६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ, तर अहिलेसम्मको प्रगति भने ३६.८३ प्रतिशत मात्र रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै