वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालले वीरगन्जमा ‘श्री गुरु दक्षिणा उत्सव’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
वीरगन्जको आदर्शनगरस्थित रानी सती धर्मशालामा शनिबार आयोजित कार्यक्रममा हिन्दू धर्म, संस्कृति र राष्ट्रिय चेतनाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको छ।
कार्यक्रमको मुख्य उद्देश्य गुरु परम्पराको सम्मान गर्नु र राष्ट्र, धर्म तथा संस्कृतिप्रति समर्पणको भावनालाई थप बलियो बनाउनु रहेको आयोजकले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वयंसेवक संघ, उत्तर बिहारका राज्य प्रचारक रबि शंकर जी महाराजले नेपालमा हिन्दूत्वको भावनाले नै राष्ट्र निर्माणको आधार तयार पार्ने बताए । उनले हिन्दू स्वयंसेवक संघले गरिरहेको धार्मिक र सांस्कृतिक जागरणको काम प्रशंसायोग्य रहेको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि, नारायणी अस्पतालका फिजिसियन तथा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्य, शिक्षा, संस्कार र संस्कृतिबीचको समन्वयबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राखे । उनले हिन्दू स्वयंसेवक संघको समाज परिवर्तन र चरित्र निर्माणको कार्य अनुकरणीय रहेको बताए ।
कार्यक्रम संयोजक एवं वीरगनज विभागका संघचालक अशोक बैधले बढ्दो विकृति र विसंगतिको समयमा हिन्दू स्वयंसेवक संघले सुसंस्कार, समर्पण र राष्ट्रप्रेमको भावना जागृत गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा गुरुपूजन, गुरुदक्षिणा अर्पण, तथा संघ कार्यप्रति प्रतिबद्धताको शपथ जस्ता विशेष आकर्षण रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी, स्वयंसेवक, बुद्धिजीवी, चिकित्सक, व्यवसायी, र युवा वर्गको बाक्लो उपस्थिति थियो।