रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा कमिसन विवादका कारण तीन वटा विद्यालयको १ करोड ६५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयलाई ५५ लाख रुपैयाँका दरले विनियोजन गरिएको बजेट खर्च हुन नसकेको हो।
नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवले फेसबुकमार्फत बजेट फ्रिज हुनुमा जिम्मेवार व्यक्ति र राजनीतिकर्मीहरूको कडा आलोचना गरेका छन्। उनका अनुसार, वडा नं ८ को श्री मावि विजयपुर, वडा नं ४ को श्री मावि टेङ्ग्राहा र वडा नं ५ को श्री आधारभूत मावि, सन्तपुर दोस्तीयाका लागि विनियोजित यो रकम पूर्वाधार निर्माण, पुस्तकालय र डिजिटल सामग्री खरिदका लागि थियो।
निलम्बित मेयर गोपाल यादवले कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहम्मद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीबीचको कमिसनको भागबन्डा नमिल्दा रकम फ्रिज भएको आरोप लगाएका छन्। उनले सेराजले प्रत्येक विद्यालयबाट ७ लाख रुपैयाँ कमिसन खोजेको र अन्य कर्मचारीले पनि हिस्सा माग्दा कार्यविधि नै नबनेको दाबी गरेका छन्।
नेकपा माओवादीका नेता अजय तिमल्सिनाले पनि कमिसनको चक्करमा लागेर बजेट फ्रिज भएको भन्दै छानबिनको माग गरेका छन्। अर्कोतर्फ, कार्यवाहक मेयर खातुन र उनका श्रीमान् सेराजले भने आफूहरूमाथि झुटा आरोप लगाइएको र प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको असहयोगका कारण रकम फ्रिज भएको जिकिर गरेका छन्।
हाल भ्रष्टाचार मुद्दामा निलम्बित मेयर गोपाल यादवको अनुपस्थितिमा उपमेयर अम्बेया खातुनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन्। यद्यपि, नगरपालिकाको काममा उनका श्रीमान् सेराजले हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ।