ट्रेन्डिङ

करेन्ट लागेर दम्पतीको मृत्यु, पीडित परिवारलाई बीमा दिलाउन मधेश सरकारको पहल सुरु

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका–२, पौंवा टोलमा करेन्ट लागेर दम्पतीको मृत्यु भएपछि मधेश प्रदेश सरकारले पीडित परिवारलाई नागरिक बीमा सुविधा उपलब्ध गराउन पहल सुरु गरेको छ।

सरकारको एक उच्चस्तरीय टोली आज घटनास्थल पुगेर मृतक परिवारलाई सान्त्वना दिनुका साथै बीमा प्रक्रियाका लागि आवश्यक काम अगाडि बढाएको हो।

गत शुक्रबार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा बालेश्वर खंगको करेन्ट लागेर मृत्यु भएको थियो। उनलाई बचाउन जाँदा उनकी श्रीमती रामकुमारी खंगको समेत ज्यान गएको थियो। दैनिक ज्याला–मजदुरी गरेर जीवनयापन गर्दै आएका यस दम्पतीको निधनपछि उनीहरूका आश्रित परिवार शोकमा डुबेका छन्।

पीडित परिवारलाई समवेदना व्यक्त गर्न आज दिउँसो मधेश प्रदेश सरकारको टोली रूपनीस्थित खंग परिवारको घर पुगेको थियो। टोलीमा खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको सहभागिता थियो।

टोलीले पीडित परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको थियो। साथै, मृतक दम्पतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गरेको थियो।

टोलीले खंग परिवारलाई प्रदेश सरकारले साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रम अन्तर्गत बीमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराएको छ। बीमा दाबीका लागि आवश्यक कागजात संकलनको कामसमेत सुरु गरिएको छ। यस प्रक्रियालाई सहज बनाउन स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले बताएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै