ट्रेन्डिङ

बारामा ब्राउनसुगरसहित युवक पक्राउ, ठूलो परिमाणमा लागुऔषध बरामद

बारा । बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुहीस्थित सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल गइरहेका युवकलाई शंका लागि रोकेर खानतलासी गरेको थियो।

बुधवार साँझ गरिएको सो खानतलासीका क्रममा युवकको साथबाट लागुऔषध फेला परेको प्रहरीको भनाइ छ।

पक्राउ परेका युवक बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी २२ वर्षीय अजमुल हक अन्सारी रहेको प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार अन्सारीको साथबाट दुईवटा प्लास्टिकको पुरिया बरामद गरिएको छ।

एउटा कालो प्लास्टिकभित्र सानो सेतो प्लास्टिकमा ब्राउन सुगर करिब ६०० मिलिग्राम भेटिएको छ भने अर्को सेतो प्लास्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको हो।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्ति वा गिरोहको खोजीसमेत तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै