जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिकामा आमासँगको प्रेम सम्बन्धका कारण उत्पन्न विवादका क्रममा एक नाबालिका छोरीको हत्या भएको छ।
धारिलो हतियार (खुकुरी) प्रयोग गरी १४ वर्षीया अन्जली यादवको हत्या गरिएको धनुषा प्रहरीले पुष्टि गरेको छ।
मृतक अन्जली बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी छोरी हुन्।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीका अनुसार घटनास्थलमा राति करिब ११ बजे हत्या भएको भए पनि प्रहरीलाई ढिलो खबर पुगेको थियो।
प्रहरी टोली घटनास्थलमा पुग्दा अभियुक्त भने फरार भइसकेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको भनाइ अनुसार मृतककी आमा ३६ वर्षीया आशा यादवसँग सम्बन्ध रहेका ३५ वर्षीय रामबाबु साह रातको समयमा खुकुरीसहित घरमा पुगेका थिए।
त्यही क्रममा विवाद भएपछि ती युवकले खुकुरी निकालेर प्रहार गरेका थिए।
घटनामा अन्जलीको ज्यान गएको छ भने उनकी आमा आशा यादव र भतिजी राधा यादव गम्भीर घाइते भएकी छन्।
घाइतेहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार अभियुक्त साह यसअघि पनि श्रीमतीको हत्या अभियोगमा जेल सजाय काटिसकेका व्यक्ति हुन्।
प्रहरीले अभियुक्तको पहिचान गरिसकेको र उनको खोजी कार्य तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिएको छ।