काठमाडौँ । देशभर हाल सक्रिय मनसुनी प्रणालीको प्रभाव देखिएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश प्रदेशमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।देशभर सामान्य बदलीको अवस्था छ।
दिउँसो र राति बढ्न सक्छ वर्षाको मात्रा
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरेको छ।
सतर्कता अपनाउन आग्रह
भारी वर्षाका कारण बाढी, पहिरो र सवारी आवागमनमा असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र पछिल्लो मौसमी बुलेटिनअनुसार तयारी गर्न मौसम महाशाखाले अनुरोध गरेको छ।