बारा । बारा प्रहरीले अवैध रुपमा एक सय ग्रामभन्दा बढी सुन बोकेर हिँडिरहेका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ का २६ वर्षीय गोपिलाल बिश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अमलेखगञ्जस्थित चेकपोस्टमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको ना २२ प ३८३४ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गर्दा बिश्वकर्माको साथमा रहेको झोलामा कुनै बिल नखुलेको १०८.८ ग्राम (१२.६९० तोला) सुनका गरगहना फेला परेको हो।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बिना कागजात सुन बोकेर हिँडिरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा उनले उक्त सुनको वैधानिक कागजात देखाउन नसकेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिश्वकर्मामाथि सुन तस्करीको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
उनलाई हाल इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।
बरामद गरगहनाको स्रोत र प्रयोजनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा निगरानी कडा बनाइएको पनि जानकारी दिएको छ।