वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० मा नेतृत्वको विषयलाई लिएर चलेको आन्तरिक विवादका बीच अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्।
श्रेष्ठले पार्टीको विधानमा रहेको अधिकार प्रयोग गर्दै पोखरा महानगरपालिका–६, कास्कीका वरिष्ठ नेता बास्तोलालाई यो जिम्मेवारी सुम्पेकी हुन्।
यो निर्णय पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेको पृष्ठभूमिमा आएको छ। केन्द्रीय सदस्यहरूले साउन ११ गते दिउँसो २ बजेसम्म बैठक नबोलाए थप निर्णय लिने चेतावनी दिएका थिए। अध्यक्ष श्रेष्ठले उक्त अल्टिमेटमको समयसीमाभित्र बैठक आह्वान नगरी विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्ष तोकेकी हुन्।
अध्यक्ष श्रेष्ठले आफू केही दिनदेखि अस्वस्थ रहेको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता उत्पन्न भएको भन्दै बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको स्पष्ट पारेकी छिन्। ‘मैले मेरो अधिकार र विधान अनुसार जिम्मेवारी दिएकी हुँ,’ उनले भनेकी छन्।
नाउपाभित्र अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको सम्बन्धमा आएको खटपटले पार्टीभित्रको आन्तरिक राजनीतिलाई थप जटिल बनाएको छ। यसअघि पार्टीको आधिकारिक लेटरप्याड र छापको प्रयोगमा समेत विवाद देखिएको थियो। कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएपछि पार्टीभित्रको यो किचलोले कस्तो मोड लेला भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।