सिरहा । लागु औषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।
प्रहरीले एक राउण्ड हवाइ फायर गरी उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानका अनुसार भारतको मधुवनी जिल्लास्थित ग्राम पञ्चायत बिरपुरका श्यामसुन्दर पासवान लागु औषधसहित नेपाल प्रवेश गर्ने तयारीमा रहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी थालेको थियो।
आज अपरान्ह भारतबाट नेपालतर्फ आइरहेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा रोकिन अनुरोध गर्दा पासवान भाग्न थालेपछि प्रहरीले एक राउण्ड हवाइ फायर गर्नुपरेको प्रवक्ता पासवानले जानकारी दिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका पासवानको साथबाट करिब ५० ग्राम लागु औषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको छ।