ट्रेन्डिङ

रौतहटमा करेन्ट लागेर एक वर्षमै २७ जनाको मृत्यु, प्रहरीद्वारा सचेत रहन आग्रह

रौतहट । रौतहट जिल्लामा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या चिन्ताजनक रूपमा बढिरहेको छ।

पछिल्लो करिब एक वर्षको अवधिमा करेन्ट लागेर २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २३ जनाले करेन्ट लागेर ज्यान गुमाएका थिए।

चालु आर्थिक वर्षको सुरु हुँदै गर्दा हालसम्म थप ४ जनाको मृत्यु भइसकेको छ। विद्युतसम्बन्धी सामान्य लापरवाहीका कारण यस्ता घटना दोहोरिएको प्रहरीको भनाइ छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई विद्युत प्रयोगमा विशेष सावधानी अपनाउन अपिल गरेको छ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा पानी जमेको स्थानमा वा खाली खुट्टा बिजुलीका काम नगर्न आग्रह गरिएको छ। यस्तै, विद्युत मर्मतको कार्य गर्दा अनधिकृत व्यक्तिबाट नभई प्रमाणित प्राविधिकको मात्र सहारा लिन जनाइएको छ।

बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले उनीहरूलाई सजिलै छुन सक्ने स्थानमा विद्युतीय उपकरण नराख्न समेत आग्रह गरेको छ।

खेतमा सिँचाइका लागि मिटरको प्रयोग गर्न, रातको समयमा बिजुलीको मर्मत कार्य नगर्न र पोलबाट हुकिङ प्रणालीमार्फत विद्युत चोरी नगर्न चेतावनी दिइएको छ।

प्रहरीले सामान्य देखिने तर खतरनाक हुने खुला स्विचबोर्ड वा भाँचिएका तारको प्रयोगबाट टाढा रहन सुझाव दिएको छ।

सार्वजनिक स्थान वा घरको आसपास रहेका असुरक्षित तारले पनि दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरी प्रशासनले स्थानीय तह र सरोकारवाला निकायसँग मिलेर जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले नागरिकलाई सावधानी अपनाई आफू र आफ्ना परिवारको सुरक्षामा सजग रहन अनुरोध गर्दै विद्युत सुरक्षालाई प्राथमिकतामा राख्न आह्वान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै