वीरगन्ज , पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी बनाउने प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ बाट नापजाँच कार्यको शुभारम्भ गरेको हो।
आयोगले सर्भेक्षक नकुल पटेलको नेतृत्वमा तीन जना अमिनको टोली परिचालन गरी जग्गा नाप्ने काम अघि बढाएको छ। आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार यो कार्य भूमिहीनहरूलाई व्यवस्थित बसोबास गराउने सरकारी योजनाको महत्त्वपूर्ण हिस्सा हो।
यस कार्यमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र वडा नम्बर १ का अध्यक्ष बासुदेव महतो थारुले सक्रिय समन्वय र सहयोग गरिरहेका छन्। उनीहरूको सहकार्यले नापजाँचको काम प्रभावकारी रूपमा अघि बढिरहेको अध्यक्ष अहमदले जानकारी दिए।
यस नापजाँच कार्यले वर्षौंदेखि भूमिहीन रहेका वास्तविक परिवारहरूको पहिचान गरी उनीहरूलाई जग्गाको स्वामित्व दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका साथै, यसले सामाजिक न्यायलाई स्थापित गर्दै समावेशी विकासमा समेत ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।