वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामान्य प्रशासन मन्त्री पदबाट हालै राजीनामा दिएका राजकुमार गुप्तालाई मधेशी मूलको भएकै कारण राजीनामा दिन बाध्य पारिएको सनसनीपूर्ण दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको हकमा भने फरक मापदण्ड अपनाइएको आरोप लगाएका छन्।
राजकुमार गुप्ताको घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा उनले राजीनामा दिएका थिए। तर, सोही प्रकृतिको भूमिमन्त्री बलराम अधिकारीको पनि ३२ लाख घुस लिएको दाबीसहितको अडिओ बाहिरिए पनि उनले राजीनामा दिनु नपर्ने यादवको बुझाइ छ।
यादवले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छूट छ।’ उनले राजकुमार गुप्ता मधेश मूलका भएकाले उनलाई राजीनामा दिन बाध्य पारिएको दाबी गरे।
यादवले ‘बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’’ को सगोत्री भएकाले अधिकारीले अझै ठूलो काण्ड गरेपनि ‘बा’ को शिरमा विराजमान भइरहने आरोप लगाए। उनले थप लेखेका छन्, ‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन्। अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन्। तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ।’
यादवले बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ओलीले राजीनामाको फरमान जारी गर्न निर्देशन दिइसक्ने दाबी समेत गरेका छन्।