वीरगन्ज । लगातारको सुक्खा र जलस्रोत सुक्दै जाँदा वीरगन्जसहितका क्षेत्र गम्भीर खानेपानी संकटमा परेपछि मधेश प्रदेश सरकारले बुधबारदेखि आपतकालीन रूपमा पानी वितरण सुरु गरेको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारले आफ्ना ८ वटा वारुणयन्त्र संकटग्रस्त क्षेत्रहरूमा खटाएको छ।
प्रत्येक वारुणयन्त्र ५ हजार लिटर क्षमताको रहेकाले एकपटकमा ४० हजार लिटर पानी वितरण हुन सक्ने सरकारको भनाइ छ।
मुख्यमन्त्री सतीश कुमार सिंहले आज बिहान वीरगन्जबाट वारुणयन्त्रहरू रवाना गर्दै भने, “खानेपानी अभावबाट जनता छटपटिरहेका छन्, यो अवस्थामा सरकार चुप लागेर बस्दैन। अहिले सरकार पूर्ण रूपमा क्रियाशील छ।”
प्रभावित क्षेत्रमा २४ सैं घण्टा वारुणयन्त्र परिचालन गरिनेछ भने वितरणको संयोजन नेपाली सेनाले गर्नेछ।
पानीको पहुँच तत्काल पुर्याउने उद्देश्यले यसअघि प्रदेश सरकारले वन कार्यालयका ३ वटा ट्याङ्कर समेत परिचालन गरिसकेको छ।
अझै अभाव कायमै रहेका क्षेत्रमा थप राहतस्वरूप नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र एक अतिरिक्त वारुणयन्त्र खटाउने तयारी भइरहेको मुख्यमन्त्री सिंहको भनाइ छ।
“यो संकट समाधान गर्न प्रदेश सरकार मात्र होइन, संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँग मिलेर हामी स्रोतसाधनको अधिकतम उपयोग गर्दैछौं,” मुख्यमन्त्री सिंहले बताए।
वीरगन्जलगायतका क्षेत्रमा पानीको चरम अभावका कारण जनजीवन तहसनहस भएको अवस्थामा सरकारको यो पहल तत्काल राहत दिने अपेक्षा गरिएको छ।