वीरगन्ज । जिउनी (जिउका)को जग्गा आफ्नो नाममा पास नगरेको झोकमा छोरा र नातिले आमाबुवालाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।
वीरगन्ज महानगरपालिका–१३ निवासी ८५ वर्षीय शिवपुजन राउतले बिहीबार पर्सा प्रहरीमा जाहेरी दिएपछि यो घटना सार्वजनिक भएको हो।
पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार शिवपुजन राउतले आफ्नै छोरा वृजकिशोर पटेल र नाति हरिओम पटेलविरुद्ध कुटपिट गरेको भन्दै कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन्। प्रहरीले जाहेरी दर्तापछि कानुनी प्रक्रिया अगाडि बढाइसकेको लम्सालले जानकारी दिए।
शिवपुजन राउतले प्रहरीलाई दिएको जाहेरीमा आफू र श्रीमती उषादेवी लामो समयदेखि छोराहरूबाट छुट्टै बस्दै आएको उल्लेख गरेका छन्। अंशबन्डा गरी आफ्नो भागको जमिनबाट गुजारा चलाउँदै आएका उनीहरूले आफ्नो जिउनीका लागि राखेको ६ धुर जग्गा माइलो छोरा वृजकिशोरले आफ्नो नाममा नामसारी गर्न पटकपटक दबाब दिँदै आएको बताएका छन्।
जाहेरीमा शिवपुजनले लेखेका छन्, ‘यही बिहीबार उनीहरू फेरि मेरो घरमा आई जबरजस्ती औँठाछाप गर्न लगाउँदा हामीले मानेनौँ, अनि त्यसपछि उनीहरूले लात र मुक्का बर्साउन थाले।’ यसरी निर्घात कुटपिट गरिएकोले दुर्व्यवहार गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन उनले आग्रह गरेका छन्।
शिवपुजनको नाममा रहेको २२ धुर जग्गा धेरै वर्षअघि नै मालपोतबाट सात जनालाई अंश लाग्ने गरी बन्डा भइसकेको थियो। त्यही बेला शिवपुजन र उनकी श्रीमती उषादेवीको नाममा जिउनीका लागि ६ धुर जग्गा राखिएको थियो। यही जिउनीको जग्गा छोराहरूले आफ्नो नाममा गराउन दबाब दिँदै आएको र पास नगर्दा बारम्बार हिंसा भइरहेको शिवपुजनको गुनासो छ।
छोराहरूले आफ्नो हेरचाह नगरेको र बेवास्ता गरेकोले आफूले त्यो जग्गा आफैँसँग राखेको शिवपुजनले बताएका छन्। प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।