ट्रेन्डिङ

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने एमाले महासचिव पोखरेलको घोषणा

वीरगन्ज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन्।

आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय विभागको संयुक्त भेलालाई सम्बोधन गर्दै पोखरेलले यो केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट पारे।

महासचिव पोखरेलले पार्टीभित्र विधानका केही प्रावधानबारे सिर्जना भएका विवाद र भ्रमलाई चिर्ने प्रयास गरे। उनका अनुसार, २०७८ मङ्सिर १० गते सौराहामा भएको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि प्रस्ताव गरिएको थियो।

उनले २०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरे पनि ुतत्कालीन सङ्कटलाई व्यवस्थापन गर्नु ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको स्पष्ट पारे। यस्तै, केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको पनि उनले जानकारी दिए।

पोखरेलले विधान महाधिवेशनमा अध्यक्षमा दुई पटक मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको बताए। ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौँ, उहाँ आठौँ महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। नवौँमा विजयी हुनुभयो। विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो,’ पोखरेलले भने।

यसै प्रावधानलाई टेकेर पुष्प कँडेल तेस्रो पटक लेखा आयोगको अध्यक्ष चयन भएको उनको भनाइ छ। महासचिव पोखरेलले २०८० वैशाख ९ गते नेकपा एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउँदा ७० वर्षे कार्यकाल हटाइएको पनि उल्लेख गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै