वीरगन्ज । बारा ४ का संघीय सांसद तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा–पर्सामा चर्किएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि संसदीय विशेष समिति गठनको माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले शुद्ध पिउने पानीको अभावमा हजारौँ नागरिक छटपटाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रका जनता रित्तो भाँडा बोकेर सडकमा उत्रिए पनि सरकारले नदेखेको भन्दै आफू जनप्रतिनिधिको हैसियतले लज्जाबोध भएको बताए। उनले बाराको परवानीपुर, पर्सौनी, विश्रामपुर, फेटा र पर्साको वीरगन्ज महानगरपालिकालगायत सयौँ गाउँमा खानेपानीको हाहाकार भएको उल्लेख गरे।
खानेपानी मन्त्री प्रदीप यादव आफ्नै छिमेकी निर्वाचन क्षेत्रबाट निर्वाचित भए पनि उनको ध्यान संवेदनशील विषयमा नगएको भन्दै श्रेष्ठले प्रश्न उठाए। उनले राज्यले वार्षिक करोडौँ रुपैयाँ खर्च गरे पनि समस्याको दीर्घकालीन समाधान नहुनु दुःखद भएको बताए।
सांसद श्रेष्ठले बारामा दर्जनौँ खानेपानी आयोजना वर्षौंदेखि अलपत्र रहेको भन्दै ती आयोजना शीघ्र सम्पन्न गर्न समेत माग गरे। साथै, उनले खानेपानीमा समेत राजनीतिकरण भइरहेको र बोरिङ गाड्ने नाममा पार्टीको झण्डा र पदको आडमा उपेक्षा र गैरजिम्मेवारीको राजनीति भइरहेको आरोप लगाए।
सांसद श्रेष्ठले खानेपानी केवल भौतिक पूर्वाधारको विषय नभई जनस्वास्थ्य, जीवन र मृत्युको विषय भएकोमा जोड दिए। उनले जनताको पीडा शब्दले भन्दा आँसुले देखिने भन्दै त्यो आँसु पुछ्न नसक्ने सरकारको औचित्य नहुने बताए।
श्रेष्ठले सरकारलाई तत्काल बारा–पर्साको खानेपानी संकटतर्फ गम्भीर हुन र जनताको न्यूनतम अधिकार सुनिश्चित गर्न यथाशीघ्र कदम चाल्न जोडदार माग गरे। उनले खानेपानीको अधिकार जनताको आधारभूत आवश्यकता भएको भन्दै सरकार आजैका मितिबाट संवेदनशील बन्नुपर्नेमा जोड दिए।