रौतहट । जिल्लाको गरुडा–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा एक शिक्षकले आफ्नै छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै शुभकामना पठाएपछि तनाव उत्पन्न भएको छ।
यो घटनाले गर्दा शिक्षकमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड भएको छ र प्रहरीले अश्रुग्याँससमेत प्रहार गर्नुपरेको छ।
विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहमाथि एक छात्राको जन्मदिनमा आपत्तिजनक शुभकामना सन्देश पठाएर जिस्काएको आरोप लागेको छ। उक्त सन्देशको विषयलाई लिएर आक्रोशित विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट गरेका थिए। स्थिति यति बिग्रियो कि उनीहरूले विद्यालयमा समेत तोडफोड गरिदिए।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, भीड नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।
डीएसपी कार्कीका अनुसार, आरोपित शिक्षक रवीन्द्र प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।