जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदल नै विवादको घेरामा परेको छ ।
कार्यदलको संरचनाप्रति असहमति जनाउँदै विपक्षी दलहरुले छैटौं दिन पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गर्दै बैठक चल्न दिएनन् ।
मुख्य आपत्ति भने कार्यदलमा कार्यपालिका सदस्य—मन्त्रीलाई राखिएको विषयमा थियो ।
नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखेर निष्पक्षता मारिएको आरोप लगाए ।
“त्रुटि सच्याउन बनाइएको कार्यदलमै त्रुटि भयो,” सांसद भट्टराईले भने, “बिचौलियाको छानबिन गर्ने नाममा सरकार आफै संलग्न हुने हो भने संसद चल्दैन ।”
यसअघि सत्तारुढ र विपक्षी दलबीच छलफलपछि सभामुखको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।
तर कार्यदलमै मन्त्रीको सहभागिता सुनिश्चित भएपछि विवाद थपिएको हो ।
बैठकमा निरन्तर अवरोध भइरहेपछि सभामुख मण्डलले आफू कार्यदलको संयोजकबाट अलग हुने घोषणा गरे । “समय पनि छैन, सहमति पनि छैन । यस्तो अवस्थामा कार्यदल सञ्चालन गर्न सकिन्न,” उनले भने ।
सभामुखले संसदमा बजेटसम्बन्धी विवाद छलफलकै माध्यमबाट समाधान खोज्न आग्रह गरे पनि विपक्षी सांसदहरु नटेरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।