ट्रेन्डिङ

सभामुखको नेतृत्वमा कार्यदल गठन, एमाले मन्त्रीको सहभागितामा जसपाको आपत्ति

जनकपुरधाम । मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विचौलिया हावी भएको भन्दै प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेपछि अन्ततः सरकार कार्यदल गठन गर्न सहमत भएको छ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले सभामुख रामचन्द्र मण्डललाई कार्यदल गठन गरी बजेटमा देखिएको समस्या समाधान गर्न आग्रह गरे।

मुख्यमन्त्रीको आग्रहलगत्तै सभामुख मण्डलले आफ्नै नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको सदनलाई जानकारी गराए। कार्यदलमा रामअशिष यादव, जवाहर लाल कुशवाहा, कनिश पटेल, सरोज कुमार यादव र कृष्णा यादवलाई राखिएको छ।

कार्यदलमा नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलाई राखिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ। जसपा नेपालका रामअशिष यादवले बजेटमा सरकारद्वारा गडबड भएको भन्दै सरकार पक्षलाई कार्यदलमा राख्न नहुने तर्क गरे। उनले बजेट सुधार, परिमार्जन वा पुनर्लेखनका लागि सत्तापक्ष र प्रतिपक्ष मात्र रहने गरी कार्यदल गठनको सहमति भएको दाबी गरे। ‘सदनमा सत्तापक्ष र प्रतिपक्ष मात्र हुन्छ। सरकार मधेश भवनमा छ,’ उनले भने।

मुख्यमन्त्री सिंहले भने सहमतिकै आधारमा कार्यदल गठन भएको र अहिले सहमति तोड्ने प्रयास भएको भन्दै प्रतिवाद गरे।

यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बैठकमा वादविवाद हुने अवस्था देखिएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए। छोटो अवधिको छलफलपछि पनि घोषित समितिले नै काम गर्ने स्रोतले जनाएको छ । केही सदस्यहरूले नैतिक आधारमा सरोज यादवलाई समितिमा बस्न नहुने तर्क गरे पनि उनी समितिमा बस्ने अडानमा रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै