काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपालमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकोले वर्षा प्रभाव देखिएको हो।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहँदा अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
यसैबीच, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य थोरै भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
साथै, देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेशलगायत अन्य पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको जोखिम कायमै रहेकोले थप सतर्क रहन सुझाव दिइएको छ।
विशेषगरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम उच्च भएकोले महाशाखाले स्थानियवासी तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ।