ट्रेन्डिङ

मधेश प्रदेश सभामा बजेट विवाद : तेस्रो दिन पनि सदन अवरुद्ध, नाउपाले लियो समर्थन फिर्ता

जनकपुरधाम । मधेश प्रदेश सभामा बजेटसम्बन्धी विवाद चर्किएपछि आज लगातार तेस्रो दिन पनि सदनको कार्यवाही अवरुद्ध भएको छ। प्रतिपक्षी दलहरूले वर्तमान बजेटलाई ‘असमान’ र ‘बिचौलियाबाट प्रभावित’ भन्दै यसको पुनर्लेखनको माग गरेका छन्।

सभामुखलाई सम्बोधन गर्दै सांसदहरूले नीति निर्माण प्रक्रिया नै दूषित भएको आरोप लगाएका छन्। उनीहरूले यो बजेट मधेशका जनताको प्रतिनिधित्व गर्ने गरी पुनर्लेखन गरिनुपर्नेमा जोड दिए। प्रतिपक्षी सांसदहरूले प्रदेशमा बिचौलिया हावी भएको र अति भ्रष्टाचार बढेको दाबी गर्दै आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका छन्।

सत्तापक्षका केही सदस्यहरुले संसद चल्न दिन र आफ्नो धारणा रोस्टममा गएर सुनाउन आग्रह गरेका थिए । यद्धपी प्रतिपक्षी दलहरुको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले आज बसेको प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्।

सदन लगातार अवरुद्ध हुँदा सभामुख रामचन्द्र मण्डलले सदनलाई बन्धक बनाउनु कदापि उचित नहुने भन्दै छलफल र बहसका लागि सदन सुचारु हुनुपर्नेमा जोड दिएका छन्। सभामुखका अनुसार, सत्ता पक्ष र प्रतिपक्षबीच तालमेल हुनुपर्छ र यसका लागि सम्झौताको प्रयास भइरहेको छ।

यस गतिरोधलाई अन्त्य गर्न पटकपटक सर्वदलीय बैठकहरू बसे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन। प्रतिपक्षी सांसदहरूले सरकारलाई अभिभावकको रूपमा सबै नागरिकलाई एक समान व्यवहार गर्न र मिलाएर अघि बढ्न आग्रह गरेका छन्।

निरन्तरको अवरोध पछि सभामुख मण्डलले सदनको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै