वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाले करार र ज्यालादारीमा रहेका सबै कर्मचारीको नियुक्ति बदर गरेको छ। नगरपालिका कार्यपालिकाको २०८२ असार २३ गतेको बैठकको निर्णयानुसार चालू आर्थिक वर्ष २०८१/८२ मा नियुक्त भएका सबै कर्मचारीमाथि यो निर्णय लागू हुनेछ।
यो कदमले नगर प्रहरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीका साथै नगरभित्रका कुनै पनि संस्थामा करार सम्झौतामा खटिएका सबै शिक्षक तथा कर्मचारी गरी ठूलो संख्यामा कर्मचारी प्रभावित भएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी सूचनामा २०८१ साउन १ गतेदेखि हालसम्म नियुक्त भएका सबै कर्मचारीलाई काममा नलगाउन सम्बन्धित शाखा प्रमुख, वडा सचिव, पोखरिया प्रादेशिक अस्पतालका प्रमुख, स्वास्थ्य संस्था प्रमुख र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई कडा निर्देशन दिइएको छ।
सूचनामा स्पष्ट भनिएको छ, ‘यस्ता कुनै पनि कर्मचारीलाई कामकाजमा खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने व्यहोरा समेत जानकारी साथ अनुरोध छ।’
जानकारहरूका अनुसार, नगरपालिकाको यो कदम अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बच्न मेयर प्रधुम्न चौहानले चालेको हुन सक्छ। यस निर्णयले नगरपालिकाको दैनिक कामकाज र सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने देखिएको छ।