वीरगन्ज । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्ड अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरम असन्तुष्ट व्यक्त गर्दै नेपाल नफर्किने चेतावनी दिएका छन्।
बेल्जियमका ६१ वर्षीय प्रो लाइसेन्स होल्डर प्रशिक्षक प्याट्रिकले एन्फाले आधारभूत पूर्वाधार र सुविधाहरू समेत उपलब्ध नगराएको भन्दै गम्भीर आरोप लगाएका छन्।
हालै सम्पन्न महिला एसिया कप छनोट प्रतियोगितामा उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा टाइब्रेकरमा चुकेपछि नेपाल एसिया कपमा छनोट हुन सकेन। यस हारको मुख्य कारणमध्ये एक खेलाडीमाथि परेको अत्यधिक दबाब रहेको प्रशिक्षक प्याट्रिकले खुलासा गरेका छन्।
उनले कान्तिपुर दैनिक सँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘यसपल्टको टाइब्रेकरमा दबाबका कारण तीन–चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन्। यो खेलको अवस्था मात्र थिएन। बिहान ११ बजे नै प्रधानमन्त्रीसहितका व्यक्तिहरूसँग भिडियो कन्फरेन्स थियो। यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो।’
उनले यस्तो कार्यले खेलाडीको मनोबल घटाउने र व्यावसायिक खेलकुदमा यसको स्थान नहुने भन्दै आक्रोश व्यक्त गरे।
‘मैले उज्बेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे? उत्तर रह्यो, थिएन। रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन्। यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन। यो अरूको फाइदाका लागि भएको थियो। नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे ? गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्यो त ?’ उनले प्रश्न गरे।
‘प्रतियोगितापश्चात् नेपाली टोली स्वदेश फर्किए पनि प्रशिक्षक प्याट्रिक भने बेल्जियम फर्किएका छन् र उनले एन्फाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। ‘मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागेँ, कुनै जवाफ नै आएन। होटलमै कहिलेकाहीँ आइससम्म हुन्नथ्यो। आइस पनि दिन नसक्ने हुन्छ त ?’ प्याट्रिकले गुनासो पोखेका छन्।
उनले खेलाडीलाई राखिएको होटल, खानाको गुणस्तर र आफ्नो लागि सहायकको अभावबारे पनि खुलेरै बोलेका छन्। प्याट्रिकले आधुनिक फुटबलका लागि आवश्यक पर्ने जीपीएस, ट्रेनिङ क्यामेरा र विश्लेषण विवरण लगायतका प्राविधिक सुविधाको समेत अभाव भएको बताएका छन्। ‘मलाई त्यस्तो सहायकको के काम जसलाई कम्प्युटर पनि खोल्न आउँदैन अनि तथ्यांकसँग काम गर्न सक्दैन। हामीसँग जीपीएस थिएन। न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण। यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकेँ। यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो। मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन। यो गुनासो मात्र होइन, वास्तविकता हो,’ उनले थपे।
प्याट्रिकलाई गत जेठ २८ गते एन्फाले महिला फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो। उनी महिला टिमका दोस्रो विदेशी प्रशिक्षक र पहिलो प्रोलाइसेन्स होल्डर प्रशिक्षक पनि हुन्। उनीसँग एन्फाको एक वर्षको सम्झौता छ।
नेपाल फर्कनेबारे सोध्दा उनले भनेका छन्, ‘थाहा छैन। म आफैले सम्पर्क राख्ने छैन। यदि मलाई कल आएमा मैले उत्तर भने दिनेछु। म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि।’
कप्तान नियुक्तिमा पनि विवाद भएको उनले स्वीकार गरेका छन्। यद्यपि, उनले सावित्रा भण्डारीको कप्तानीको प्रशंसा गर्दै सावित्रा नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन्।
प्रशिक्षक प्याट्रिकको यो अभिव्यक्तिले एन्फाको कार्यशैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। नेपाली फुटबलको विकासका लागि पूर्वाधार र व्यावसायिकताको अभावले कस्ता समस्या सिर्जना गरिरहेका छन् भन्ने यो घटनाले स्पष्ट पारेको छ। एन्फाले अब कसरी प्रतिक्रिया दिन्छ र प्याट्रिकको माग सम्बोधन गर्न के कदम चाल्छ, त्यो हेर्न बाँकी छ।