ट्रेन्डिङ

‘बजेटका विकास कार्यक्रम असमान, जनविरोधी र बिचौलियामुखी’ : विमला अन्सारी

जनकपुरधाम । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममाथि चर्को असन्तोष व्यक्त गर्दै नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष एवं प्रदेशसभा सदस्य बिमला अन्सारीले आजको बैठक अवरुद्ध गरेकी छन् ।

उनले बजेटलाई ‘अनियमित, असमान, असमावेशी र जनविरोधी’को संज्ञा दिँदै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाइन् ।

सभामुखलाई सम्बोधन गर्दै अन्सारीले सरकारको नीति ‘जनताको आवाजमा होइन, बिचौलिया र दलालहरूको सिफारिसमा आधारित’ रहेको आरोप लगाइन् । उनका अनुसार, यो बजेट मधेशका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्गहरूको वास्तविक आवश्यकता समेट्न पूर्णतः असफल भएको छ।

अन्सारीले विगतमा आफूले संसदमार्फत उठाएका मदरसा विधेयक ल्याउने, इस्लामिक विश्वविद्यालय स्थापना गर्ने र दलित, मुस्लिम, आदिवासी जनजाति, थारु, निषाद लगायतका पिछडिएको वर्गहरूका लागि लक्षित बजेट ल्याउनुपर्ने मागलाई सरकारले निरन्तर बेवास्ता गर्दै आएकोमा आक्रोश व्यक्त गरिन् ।

‘स्थानीय निकाय र प्रदेशसभा सदस्यहरूका सिफारिसहरू बेवास्ता गरिएको छ। बजेट केन्द्रीय प्रभाव, सिफारिस र चलखेलमा आधारित छ,’ उनले जोड दिइन् ।

नेतृअन्सारीले यस्तो ‘जनविरोधी’ विकास कार्यक्रम तत्काल फिर्ता लिन र सबै समुदायलाई समेट्ने, समावेशी तथा समानतामूलक ढंगले पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले चेतावनी दिँदै भनिन्, ‘यदि सरकारले यो आवाज नसुने, हाम्रो पार्टी संसद शान्तिपूर्वक चल्न दिने छैन।’

सरकारले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ‘विकासको मापदण्ड जनताको आँसुबाट तय हुन्छ, बिचौलियाको प्रस्तावबाट होइन’ यो आवाज कुनै व्यक्तिगत आग्रह नभई सम्पूर्ण मधेशका पीडित, शोषित र वञ्चित जनताको आवाज भएको अन्सारीले स्पष्ट पारिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै