ट्रेन्डिङ

उज्बेकिस्तानबाट फर्कियो नेपाली महिला फुटबल टोली

वीरगन्ज । एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली आज बिहान स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले टोलीलाई स्वागत गरेका थिए।

एन्फा महासचिव राईले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्किएको बताए। यद्यपि, प्राविधिक रूपमा पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसकेकोमा दुःख व्यक्त गरे।

यसै छनोटबाट कप्तान बनेकी सावित्रा भण्डारी ‘साम्बा’ले अवसरको सदुपयोग गरेको बताइन्। ‘हामी २ गोलले पछाडि हुँदा पनि गोल फर्कायौं, त्यसमा ५०/५० चान्स थियो जहाँ हामी चुक्यौं,’ उनले भनिन्, ‘कोचिङ स्टाफ र बेन्चबाट निरन्तर सपोर्ट आइरहेको थियो।’ समग्रमा धेरै कुरा सिक्ने मौका पाएको र माथिल्लो टिमसँग खेल्न पाउनु सकारात्मक भएको उनको भनाइ थियो।

प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने टोलीसँग फर्किएका छैनन्। उनी उज्बेकिस्तानबाटै बेल्जियम प्रस्थान गरेको एन्फाले जनाएको छ।

समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आगामी वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन। निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको थियो। दुई गोलले पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बराबरी गर्न सफल नेपाली टोलीको भने प्रशंसा भएको छ।

प्रशिक्षक डे वाइल्डले पनि आफ्ना खेलाडीहरूप्रति गर्व लागेको र उनीहरूमा राम्रो सम्भावना भएको बताएका थिए।

यसअघि नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। उज्बेकिस्तानको जितसँगै उसले एसियन कप, फिफा महिला विश्वकप र ओलम्पिकको छनोटका लागि ढोका खोलेको छ। नेपालका लागि भने यी सबै प्रतियोगिताको सम्भावना सकिएको छ।

यसपटक पूर्वकप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कुनै पनि खेल खेल्न पाइनन्। उनको स्थानमा अन्जना राना मगरले तीनै खेलमा पहिलो रोजाइमा पोष्ट सम्हालेकी थिइन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै