वीरगन्ज । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको सेतो र खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
ब्यूरोले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लागुऔषध नियन्त्रणमा महत्वपूर्ण सफलता मिलेको जानकारी दिएको हो।
ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ गर्ने क्रममा ठूलो सफलता हासिल गरेको छ। शनिबार राति ११ बजे थाइ एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौँ आएका भारतका ६५ वर्षीय राकेश वाहबलाई पक्राउ गरिएको हो।
भारतको राहदानी बाहक वाहबले आफ्नो साथमा ल्याएको लगेजभित्र लुकाई राखेको अवस्थामा ६.५ किलोग्राम सेतो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यसैगरी, विशेष सूचनाका आधारमा ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेली, मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो ३ बजे मोरङको रंगेली नगरपालिका वडा नं. ८ स्थितबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत, बिहारको थररिया जिल्ला, कुर्साकाटा–१४, टाँवाबारी ठेगाना भएकी ४५ वर्षीया हसिना खातुन, मोरङको रंगेली नगरपालिका–८ कै ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृर्तानन्द ठाकुर रहेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर समेत गर्नुपरेको जनाएको छ। उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।