सप्तरी । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई सप्तरीको कञ्चनरुप नगरपालिकामा मुस्लिम समुदायले भव्य स्वागत गरेका छन्।
नेपाल मुस्लिम इत्तेहात संगठनको कञ्चनरुप नगर कमिटीले शनिबार आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा मन्त्री लेखीलाई मुस्लिम परम्पराअनुसार सम्मानसहित स्वागत गरिएको हो।
कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कञ्चनरुपका पूर्व मेयर बसन्त कुमार मिश्रले मन्त्री लेखीको कार्यशैलीको प्रशंसा गरे।
उनले भने, “यदि लेखीले यही रफ्तारमा काम जारी राखे भने कार्यकाल सकिएपछि आफुले गरेको काम सम्झाउन मात्रै पनि कम्तीमा पाँच घण्टा लाग्छ।”
कार्यक्रममा मन्त्री लेखीले सबै वर्ग र समुदायलाई समेटेर बजेट तथा योजनाहरू समान रूपमा वितरण गरिएको उल्लेख गर्दै जनताको समृद्धि र विकासका लागि आफू निरन्तर कटिबद्ध रहेको बताए।
उनले भने, “म जनताको माया र स्नेह पाउँदै आएको छु। दुई–चार जनालाई मेरो काम गर्ने शैली मन नपर्दैमा मलाई रत्तीभर पनि फरक पर्दैन।”
सप्तकोशी नगरपालिका–२ का वडाध्यक्ष तथा युवा नेता जाहिर हुसेनले सामाजिक सञ्जालमा अराजकता फैलाउने केही तत्वप्रति असन्तुष्टि जनाउँदै सच्चिन आग्रह गरे।
उनले चेतावनी दिँदै भने, “हामीलाई पनि सामाजिक सञ्जाल चलाउन र लेख्न आउँछ।”
त्यस्तै, इत्तेहात संगठनका जैनुदिन मिया नावदीले मन्त्री लेखीको योगदानको चर्चा गर्दै उनको नेतृत्वमा मधेसको समग्र विकास भइरहेको बताए।
उनले डाहा, ईर्ष्या र जलन नगर्न सबैमा आग्रह गरे।
कार्यक्रममा गृहमन्त्री लेखीले विगतमा संविधान सभाबाट संविधान जारी नगरी तलब भत्ता मात्र खाएर सभा विघटन गरिएको दिनकै भोलिपल्ट एमाले पार्टी परित्याग गरेको स्मरण गरे।
उनले स्पष्ट पारे, “केही साथीहरूलाई भ्रम छ कि लेखी चार–पाँच पार्टी घुमेर एमाले आएको हो। तर त्यो सत्य होइन। म कुनै पार्टीमा नगई आफैँ नयाँ दल दर्ता गरेर दलित, मुस्लिम, आदिवासी, जनजाति लगायत उत्पीडित वर्गका अधिकारका लागि संघर्षमा लागेको हुँ।”