जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्मित कार्यालयको जनकपुरधाममा भव्य उद्घाटन भएको छ।
भानुचोकमा स्थापित यस कार्यालयको उद्घाटन भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिवन काटेर गरे । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सञ्चारकर्मीहरू र नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो।
मेयर साहले देशको हरेक परिवर्तनमा पत्रकारहरूको अतुलनीय योगदान रहेको भन्दै उनीहरूको संगठनका लागि आवश्यक सहयोग गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरे ।
कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हकहितका विषयमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरे। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जारा तथा अन्य पदाधिकारीहरूले यो कार्यालय प्रदेशस्तरको सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत हितका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।
नयाँ कार्यालयबाट आगामी दिनमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम, सूचना प्रवाह र पत्रकार हितका विविध कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि सो अवसरमा दिइएको थियो।

प्रदेश अध्यक्ष बन्जाराको अध्यक्षता र भंगहा नगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, केन्द्रीय सदस्य राजु विश्वकर्मा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवणकुमार देव, बारा अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई प्रदेश सदस्य साजिर मन्सूरले फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए । मधेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य राखेकी थिइन् ।