वीरगन्ज । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्का र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवबीचको चर्को गालीगलौजसहितको अडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बनेको छ।
पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको यो संवादमा नेता यादवले एसपी खड्का र समग्र प्रहरी प्रशासनमाथि भ्रष्टाचार र सरकारी कर्मचारीलाई अवैध असुलीमा संरक्षण दिएको गम्भीर आरोप लगाएका छन्।
भाइरल अडियो संवादमा नेता यादवले एसपी खड्कालाई सोझै प्रश्न गर्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै आक्रोश पोखेका छन्। उनले प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन सक्रिय रहेको र गलत काम गर्ने सरकारी कर्मचारीलाई संरक्षण दिएको आरोप लगाएका छन्। यादवको आरोप छ कि, प्रहरीकै संरक्षणमा सरकारी कर्मचारीहरूले खुल्लमखुल्ला भ्रष्टाचार गरिरहेका छन्।
यसको प्रत्युत्तरमा, एसपी योगेन्द्र कुमार खड्काले ‘अलि कुरा बुझेर बोल्नुहोस्’ भन्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्ने प्रयास गरेका छन्। तर, नेता यादवले भने आफ्नो अडान दोहोर्याउँदै ‘तपाईंहरू मधेशमा कमिसन खान आएको, तपाईंहरू लुट्न आएको’ भन्दै लगातार आरोप लगाएका छन्। अडियोमा दुवै पक्षबीच भनाभन र गालीगलौजको स्तर बढ्दै गएको स्पष्ट सुनिन्छ।
यस विषयमा जसपाका नेता अशोक यादवसँग बुझ्दा उनले प्रहरी प्रशासनको संरक्षणमै सरकारी कार्यालयहरूमा व्यापक भ्रष्टाचार र कमिसनको खेल भइरहेको दाबी गरे। यादवका अनुसार, जिल्ला शिक्षा इकाई सर्लाहीका कर्मचारीहरू रौतहटको चपुरमा बसेर कमिसनको काम गरिरहेका छन्। त्यस्तै, गरिब र विपन्न वर्गका लागि छुट्याइएको आवास निर्माणको रकम वितरणमा समेत भौतिक पूर्वाधार कार्यालय सर्लाहीका कर्मचारीहरूले कमिसन नदिने जनतालाई भेट्न समेत नमानेको उनको आरोप छ।
नेता यादवले सर्लाहीका कर्मचारीहरू दिनमा रौतहट गएर काम गर्ने र राति सर्लाही आएर कार्यालयको बाहिरबाट ताल्चा लगाई भित्रभित्रै अवैध काम गर्ने गरेको र यसमा प्रहरीले संरक्षण तथा सुरक्षा दिइरहेको दाबी गरेका छन् । ‘हिजो राति कर्मचारीहरु प्रहरीको सुरक्षामा काम गरिरहेको थाहा पाएपछि मैले एसपीलाई फोन गरेको थिएँ,’ यादवले भने, ‘एसपीले मुख छाडेपछि मैले पनि गाली दिएँ। अडियो छ, सबैले सुन्नु भएकै होला।’
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० सरोज राईले यस विषयमा अनुसन्धान भइरहेको र नेता अशोक यादवको खोजी भइरहेको बताएका छन्। डिएसपी राईले हिजो राति करिब ११ बजे उनकै कमाण्डमा प्रहरी टोली नेता यादवलाई नियन्त्रणमा लिन उनको घर कबिलासपुर नगरपालिकामा पुगेको जानकारी दिए। तर, घर नपुग्दै बाटोमै नेता यादवका छोराले विवाद गरेको र गाउँलेहरूको हुलहुज्जतका कारण प्रहरी टोली फर्कन बाध्य भएको डिएसपी राईले बताए। उनले प्रहरीको गाडीमा तोडफोड समेत भएको जानकारी दिँदै कार्यालयले यादवविरुद्ध कारबाही अगाडि बढाएको र उनको खोजी कार्य जारी रहेको बताए।
नेता यादवले आफू हिजैदेखि जनकपुरमा रहेको बताएका छन् । ‘फोनमार्फत एसपीसँग कुरा गरेको हो, म अहिले जनकपुृरमै छु, तर हिजो राति देखि दुई पटक मलाई पक्राउ गर्न घरमा दर्जनौ प्रहरी पुगेको छ ।’ उनले भने, ‘म बाहिर भएको बेला घरको मान्छेलाई प्रहरीले दुःख दिइरहेको छ ।