लहान । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिता दास (तत्मा) माथि गएराति सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास भएको छ।
जनकपुरबाट घर फर्कने क्रममा मध्यरातमा दुई अपरिचित युवाले आफूलाई लखेटेर हातपातको प्रयास गरेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
सांसद दासका अनुसार, बुधबार राति करिब साढे १२ बजे जनकपुरबाट लहानस्थित घर जाने क्रममा लहान चोकमै यो अप्रिय घटना भएको हो। उनी जनकपुरमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर फर्किँदै थिइन्। गाडीबाट ओर्लिएर घरतर्फ करिब डेढ सय मिटर हिँड्दै गर्दा एनएमबी बैंक नजिकको गल्लीमा दुई युवाले आफूलाई पछ्याउन थालेको उनले बताइन्।
‘उनीहरूले लखेट्न थालेपछि म भागेँ। घर नजिकै पुगिसकेकाले उनीहरूले मलाई भेट्न सकेनन्,’ दासले भनिन्। उनले भाग्दै गर्दा पति शोभाकान्त दासलाई फोन लगाएको र हल्लाखल्ला गर्दै दौडिएकाले आफू जोगिन सफल भएको उल्लेख गरेकी छन्।
घटनापछि सांसद दासले सामाजिक सञ्जालमा आफ्नो पीडा व्यक्त गर्दै देशमा बढ्दो असुरक्षा र डरको माहोलप्रति चिन्ता व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा किन यति भय, त्रास दिँदैछन हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ। प्रहरी थानाको नजिक मेरो घर छ, तर पनि यति असुरक्षित।’ उनले केही महिनाअघि पनि आफ्नै घरअगाडि एकजनामाथि छुरा प्रहार भएको घटना स्मरण गर्दै प्रहरी प्रशासनको बेवास्ताप्रति आक्रोश पोखेकी छन्। उनले डीएसपीलाई खबर गर्दा पनि बेवास्ता गरेको गुनासो गरेकी छन्।