बारा । पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रामअयोध्या यादवको निधन भएको छ।
बाराको सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको ७२ वर्षको उमेरमा बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ।
यादव विगत केही वर्षदेखि मधुमेहबाट पीडित थिए।
उनका छोरा डा. जितेन्द्र यादवका अनुसार अवस्था जटिल भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बारा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।
त्यसअघि यादव नेपाली कांग्रेस बारा जिल्ला सचिव र पार्टीको महासमिति सदस्यका रूपमा पनि क्रियाशील थिए।
स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
परिवारका अनुसार उनको अन्तिम संस्कार आज दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ।