वीरगन्ज । जनमत पार्टीले आफ्नो संगठन विस्तार गर्दै दुई जना नेतालाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनित गरेको छ।
पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पूर्वमन्त्री दानबहादुर चौधरी र वैज्ञानिक तथा नेता डा. जय कान्त राउतलाई यो जिम्मेवारी दिइएको हो। नवनियुक्त उपाध्यक्षमध्ये कपिलवस्तुको मायादेवी गाउँपालिका–१ निवासी दानबहादुर चौधरी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनी २०३९ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन्।
चौधरीले २०५६ सालमा नेकपा (एमाले) बाट र २०६४ सालमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट सांसदको रूपमा प्रतिनिधित्व गरिसकेका छन्। उनको राजनीतिक अनुभवमा उद्योग, सामान्य प्रशासन, महिला तथा बालबालिका मन्त्रालयका राज्यमन्त्री र समाज कल्याण मन्त्रीको भूमिका पनि समावेश छ।
त्यस्तै, सप्तरीको महादेव गाउँपालिका निवासी डा. जय कान्त राउत जनमत पार्टीको राष्ट्रिय परिषद्का संयोजक र संगठन विभाग प्रमुख हुन्। उनी २०७९ सालको संघीय निर्वाचनमा जनमत पार्टीको तर्फबाट सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। डा. राउत राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा पनि काम गरिसकेका छन् र पार्टी संगठन निर्माणमा उनको सक्रिय भूमिका रहेको बताइएको छ। उनी जनमतका अध्यक्ष डा. सीके राउतका दाइ हुन् ।
पार्टीका अनुसार, दुवै नेताको लामो राजनीतिक अनुभव र पार्टीप्रतिको योगदानलाई मध्यनजर गर्दै उनीहरूलाई यो उच्च जिम्मेवारी प्रदान गरिएको हो।
यो मनोनयनसँगै जनमत पार्टीमा अब राष्ट्रिय उपाध्यक्षको संख्या ६ पुगेको छ। यसअघि अब्दुल खान (बर्दिया), ई. बसन्त कुमार कुशवाहा (रौतहट), ई. नरेन्द्र प्रसाद चौधरी (कपिलवस्तु) र नरसिंह चौधरी (कपिलवस्तु) केन्द्रीय उपाध्यक्षको रूपमा कार्यरत छन् ।