ट्रेन्डिङ

मातृभाषा मिथिलाक्षरको पुस्तान्तरणमा जोड

जनकपुरधाम । पन्ध्र दिवसीय मिथिलाक्षर प्रशिक्षण कार्यक्रम समापन समारोह २०८२ मा मिथिलाक्षर लिपिको संरक्षण, संवद्धन र पुस्तान्तरणसँगै सीपको विकासको आवश्यकतामा जोड दिइएको छ ।

भाषाले राष्ट्र र पहिचान जोगाउने तथा निर्माण गर्ने औजारसमेत रहेकाले मातृभाषाको लिपिलाई जिवन्त राखेमा सभ्यता संस्कृति जिवित रहन सक्ने भएकाले मातृभाषाको हस्तान्तरणमा वक्ताहरुले जोड दिए । अहिले मातृभाषाको नाममा अनेकन प्रोपोगाण्डा आए पनि मुलुकमा जसको लिपि छ, त्यही भाषा नै वास्तविक सांस्कृतिक र पहिचान रहेकाले यसको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा वक्ताहरुले जोड दिँदै प्रस्ट्याएका छन् ।

सहिद दुर्गानन्द झा स्मृति अनुसन्धान तथा सेवा केन्द्रको आयोजनामा सम्पन्न भएको पन्ध्र दिवसीय मिथिलाक्षर प्रशिक्षण कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहीलाल यादवले मातृभाषाको संरक्षण र संवद्धनमा आफू गम्भीर रहेको बताएका छन् ।

उनले जबसम्म मातृभाषाको नाममा रोजगारीको सृजना हुँदैन, तबसम्म भाषामाथि विभिन्न रुपमा प्रहार भइ नै रहने हुनाले यसलाई रोजगारीसँग जोड्नुपर्ने बताए । अध्येता एवं सर्जक गोपाल झाले मातृभाषामाथि चौतर्फी रुपमा अतिक्रमण भइरहेकाले आफ्नो कला, संस्कृति र पहिचानका लागि मातृभाषालाई जिवन्त राख्नुपर्नेमा जोड दिए ।

उनले मातृभाषा मैथिलीलाई जोगाउनका लागि मातृभाषा अभियानीहरु र मातृभाषीहरुसमेत अगाडि आएर यसप्रति गम्भीर हुनुपर्ने बताए । उनले मातृभाषाको संरक्षण र संवद्र्धनका लागि मिथिलाञ्चल अभिलेखालयको आवश्यकता रहेकाले संग्राहालय स्थापनामा गर्नमा जोड दिए । उनले मिथिलाक्षरमा लेखिएको हस्तलिखित २ हजार ९२७ ग्रन्थको माइक्रोफिल्म मिथिलाञ्चल अभिलेखालयमा संरक्षित राखिएको जानकारी दिए ।

उनले भने, ‘मिथिलाक्षर लोप हुने अवस्थामा पुगेको हो भने त्यसको जिम्मेवार सरकार होइन, हामी आफैं हौं । आज जनकपुरधामका पसलका साइनबोर्डदेखि चित्रकलासम्ममा यदि मिथिलाक्षरको प्रयोग भएको छैन भने त्यो हामी सबैको कमजोरी हो ।’

त्यस्तै साहित्यकार रोशन जनकपुरीले राष्ट्र निर्माण गर्नु अघि अतिक्रमणकारीहरुले सबैभन्दा पहिला कला, मातृभाषा, संस्कृति तथा पहिचानमाथि आक्रमण गर्ने हुनाले आफ्नो र आफ्नो आत्मस्वाभिमानको रक्षाका लागि पनि मिथिलाक्षरको संरक्षण र संवद्धन गर्नु नै अहिलेको मुख्य चुनौती रहेकाले यसप्रति गम्भीर हुनु आवश्यक रहेको औंल्याए ।

उनले शासक जहिले पनि आफ्नो भेषभुषा, भाषा, संस्कृति लाद्नका लागि उनीहरुले शासकले सबैभन्दा पहिला मातृभाषामाथि योजनावद्ध प्रहार गर्ने गरेको इतिहास रहेकाले भारतको बंगाल, चीनलगायतका राष्ट्रले आफ्नो भाषाका लिपिलाई अघि बढाएको विभिन्न उदाहारणहरु रहेको बताए । यसले गर्दा उनीहरुको भाषा अहिले पनि जीवन्त रहेको समेत प्रस्ट्याए ।

संस्थाका पूर्वअध्यक्ष कुशेश्वर झाले पन्ध्र दिने प्रशिक्षणमा सहभागी भइ प्रशिक्षित भएका व्यक्तिले मातृभाषालाई अघि बढाउने विश्वास व्यक्त गरे । उनले मैथिली भाषाको मिथिलाक्षर हरेक विद्यालय तथा विभिन्न स्थलमा आफ्नो पहुँच बनाएर अभियान नै संचालन गर्नका लागि पनि उनले सुझाए ।

सो केन्द्रका अध्यक्ष शम्भुनाथ झाको अध्यक्षतामा भएको पन्ध्र दिवसीय मिथिलाक्षर प्रशिक्षण कार्यक्रम समापन समारोहमा बोल्दै त्यस्तै चित्रकार विजयदत्त मणिले लिपिको निरन्तर प्रयोग र पुस्तान्तरणमा जोड दिए । उनले मातृभाषाको प्रशिक्षण लिएका व्यक्तित्वहरुले मिथिलाक्षर भाषाको निरन्तर प्रयोग गरिएन भने सीप पनि आउने दिनमा काम नलाग्ने बताए ।

सो कार्यक्रममा पत्रकार सुजीत झा, साहित्यकार अरुण आर्या, प्रशिक्षार्थीका तर्फबाट कञ्चन झा, मिथिला नाट्य कलापरिषद्का अध्यक्ष प्रमेश झालगायतका वक्ताले प्रशिक्षित प्रशिक्षार्थीलाई शुभकामना दिएका थिए ।
सो कार्यक्रममा सहभागी ४० जना प्रशिक्षार्थीलाई सम्मानपत्र तथा गम्छा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै