ट्रेन्डिङ

युवाहरूले देशभित्रै उद्यमशीलताको आत्मविश्वास जगाउनुपर्छ : श्रममन्त्री

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरूलाई देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउन आग्रह गरेका छन्।

राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान युवा देशको प्रमुख शक्तिस्रोत भएको बताउँदै उनीहरूले स्वदेशमै उद्यमशीलतामा लाग्नुपर्नेमा जोड दिए।

मन्त्री भण्डारीले आगामी १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्यसहित आन्तरिक रोजगार प्रवर्द्धन दशक कार्यक्रम घोषणा गरिएको जानकारी दिए। ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन,’ उनले भने, ‘स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन। तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देशभित्रै रोजगारको अवसर सिर्जना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ।’

उनले रोजगारी सिर्जना गर्ने मुख्य जिम्मेवारी निजी क्षेत्रको भएको र उत्पादन तथा उत्पादकत्व बढे स्वतः रोजगारी सिर्जना हुने जिकिर गरे। संसारका धेरै देशमा सरकारले सीमित संख्यामा मात्रै रोजगारी सिर्जना गर्ने गरेको बताउँदै, निजी क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत रोजगारीका विभिन्न अवसरहरू सिर्जना गर्न सरकारले आवश्यक नीति-नियम सुधार गरेर जानुपर्नेमा जोड दिए।

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भावनाहरूलाई सही तरिकाले सदुपयोग गर्न नसक्नु गम्भीर चिन्ताको विषय भएको बताए। उनले नेपालीहरूलाई थोरै पैसाका लागि विदेशिनु भन्दा स्वदेशमै स्वरोजगार गरेर बस्न सुझाव दिए।

उनले थपे, ‘नेपालीहरू केवल वैदेशिक रोजगारमा जानेहरूको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरू सीप, ज्ञान, थोरै भए पनि पुँजी लिएर फर्केर आउनेहरूको संख्या पनि उत्तिकै छ।’ मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक वर्ष ५ लाख श्रमशक्ति आउने गरेको भन्दै, ती श्रमशक्तिहरूलाई सीप र क्षमता अभिवृद्धि गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै