वीरगन्ज । वर्षौंदेखि अलपत्र परेको २५ मिटर सडक विस्तार योजना वीरगन्ज महानगरपालिकाले आजदेखि पुनः सुरु गरेको छ।
सर्वोच्च अदालतको आदेशपछि वीरगन्जका नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा मेनरोडमा डोजर चलाइएको हो।
यसअघि अदालतको रोकका कारण रोकिएको सडक विस्तारको काम सर्वोच्च अदालतले अनुमति दिएसँगै पुनः सक्रिय भएको हो। नगरप्रमुख सिंहले अदालतको आदेशपश्चात घरधनीहरूलाई ३० दिनको सूचना दिइएको र उक्त सूचना अवधि सकिएपछि सोमबारदेखि भन्सार क्षेत्रदेखि डोजरसहितको टोलीले सडक विस्तार कार्य अघि बढाएको जानकारी दिए।
मेयर सिंहले भने, ‘सर्वोच्चको आदेश पालना गर्दै हामीले आजदेखि सडक विस्तारको काम थालनी गरेका छौं। मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर २५ मिटर सडक विस्तार सम्पन्न गर्ने हाम्रो लक्ष्य हो।’
महानगरले सडक विस्तार अन्तर्गत अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। यसबाट वीरगन्जको ट्राफिक व्यवस्था सहज हुने र शहरलाई व्यवस्थित तथा आधुनिक बनाउने अपेक्षा गरिएको छ। यद्यपि, स्थानीय स्तरमा केही विरोधका स्वरहरू उठे पनि अधिकांश नागरिकले सडक विस्तारको कार्यलाई समर्थन गरेका छन् ।