वीरगन्ज । सरकारले बजेटमार्फत सबै किसिमका सुनका गरगहनामा २ प्रतिशत विलासी कर थपेको विरोधमा सुनचाँदी व्यवसायीहरूले आन्दोलन चर्काएका छन्।
आइतबार राजधानीको मुख्य कारोबार केन्द्र न्यूरोडसहित उपत्यकाका अधिकांश स्थानका सुनचाँदी पसलहरू पूर्ण रूपमा बन्द रहेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारप्रति विरोध जनाउँदै आइतबार सुनचाँदीको नयाँ मूल्य निर्धारणमा समेत ढिलाइ गरेको छ। महासंघका अध्यक्ष अर्जुन रसायलीले आफ्ना मागहरू सम्बोधन नभएसम्म कारोबार ठप्प राख्ने जानकारी दिएका छन्। यद्यपि, कारोबार ठप्प भए पनि नयाँ मूल्य भने केही बेरमै तय गरिने उनले बताए।
बजेट घोषणासँगै सुरु भएको व्यवसायीको आन्दोलनले नयाँ मोड लिएको हो। यसअघि १० लाखभन्दा माथिको सुनका गरगहना एकैपटक खरिद गर्दा मात्र लाग्ने विलासी कर, अहिले सबै रकमका गरगहना खरिदमा लागू भएपछि व्यवसायीहरू आक्रोशित बनेका छन्।
व्यवसायीहरूका अनुसार, यो २ प्रतिशत विलासी शुल्कले सुनको गरगहना ६ प्रतिशतसम्म महँगो पर्न जान्छ। यसले नेपालमा सुनको मूल्य भारतभन्दा महँगो हुने र तस्करी मौलाउने चिन्ता उनीहरूले व्यक्त गरेका छन्। सरकारले बजेट संशोधनका क्रममा आफ्ना मागहरू सम्बोधन गर्ने आश्वासन दिए पनि हालसम्म कुनै पहल नभएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।