ट्रेन्डिङ

वीरगन्जमा कांग्रेसको आन्तरिक कलह छताछुल्लः प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ‘गुट’ हावी भएको आरोप

वीरगन्ज । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा वीरगन्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम विवादमा तानिएको छ। पार्टीका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, मधेश प्रदेश दलका नेता कृष्णा यादव, दलका उपनेता विरेन्द्र सिंह, मधेश प्रदेशका जिल्ला सभापति र जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहे पनि कार्यक्रममा संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताहरूलाई ‘बाइपास’ गरिएको भन्दै चर्को असन्तुष्टि व्यक्त भएको छ।

नेपाली कांग्रेस वीरगन्ज महानगर कमिटिका अध्यक्ष मनिन्द्र नेपालीले यस प्रशिक्षण कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन्। आक्रोशित हुँदै उनले भने, ‘यो प्रशिक्षण कांग्रेसलाई बलियो बनाउनलाई गरिँदै छ कि एउटा गुटलाई मात्र बलियो बनाउन गरिँदैछ ? नेताहरूको यस्तो ‘हर्कत’ले कांग्रेस उभो लाग्न सक्छ ?’

कार्यक्रमको उद्देश्य पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरण भए पनि संस्थापन पक्षका नेताहरूलाई मात्र सहभागी गराइएको गुनासोले पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई छताछुल्ल पारेको छ। वीरगन्जमा आयोजित यस महत्वपूर्ण कार्यक्रममा केन्द्रीय स्तरका नेताहरूको उपस्थिति रहे पनि स्थानीय तहमा देखिएको यो असन्तुष्टिले पार्टीको एकताबद्ध छविमाथि प्रश्नचिह्न खडा गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यस्ता कार्यक्रमहरू आयोजना गर्दा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा यसरी एउटा गुटलाई मात्रै प्राथमिकता दिएको भन्दै आलोचना बढेको छ।

पार्टीलाई बलियो बनाउन सबै पक्षलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकतामा यस्ता गतिविधिले झनै विभाजनको खाडल गहिरिने चिन्ता महानगर अध्यक्ष नेपालीले व्यक्त गरेका छन् ।

आज उद्घाटन गरिएको कार्यक्रममा भोली सम्म प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै