ट्रेन्डिङ

एमालेमाथि चार मोर्चाबाट ‘हमला’ : महासचिव पोखरेलद्वारा सशक्त प्रतिवादको आह्वान

वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी हमला भइरहेको भन्दै कार्यकर्ताहरूलाई त्यसको सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै पोखरेलले राष्ट्रहित र जनताका सवाललाई एमालेले सशक्त ढंगले उठाउँदा विभिन्न स्वार्थी शक्तिहरूले आक्रमण गरिरहेको बताए । महासचिव पोखरेलले एमालेलाई कमजोर पार्न मुख्यगरी चारवटा शक्तिले ‘साइबर हमला’ गरिरहेको आरोप लगाए । उनका अनुसार यी शक्तिहरू सामाजिक सञ्जाललाई मुख्य हतियार बनाएर एमालेविरुद्ध खनिएका छन् ।

पोखरेलले राजावादीहरू एमाले कमजोर हुँदा राजालाई नारायणहिटीमा श्रीपेच पहिराउन सकिन्थ्यो भन्ने भ्रममा रहेको बताए । एमालेकै कारण जेठ १५ गतेदेखि सुरु भएको राजावादी आन्दोलनले हावा खाएको भन्दै उनले राजावादीको गालीले विचलित नहुन आग्रह गरे ।

त्यसैगरी महासचिव पोखरेलले एमालेलाई कमजोर नपारेसम्म आफ्नो आकार बढाउन नसक्ने निष्कर्षमा पुगेका माओवादी, समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरूले एमालेमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले यस्ता शक्तिहरूलाई ‘विदेशीका भरिया’को संज्ञा दिँदै एमाले र कांग्रेसबीचको सत्ता सहकार्यले आफ्नो बार्गेनिङ घटेकोमा उनीहरू एमालेविरुद्ध खनिएको बताए ।

उनले पपुलिजमका नाममा जनता अलमल्याएर केही शक्तिहरूले एमालेमाथि हमला गरिरहेको बताए । उनीहरूले आफ्नो गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्ने शक्ति एमाले मात्र भएको बुझेकाले एमालेलाई निशाना बनाएको उनको भनाइ थियो। अराजकतावादीहरूले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्ने भएकाले एमालेलाई नै निशाना बनाएको उनले स्पष्ट पारे ।

त्यसैगरी महासचिव पोखरेलले एमाले कमजोर हुँदा नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ राख्ने बाह्य शक्तिहरूले पनि एमालेलाई निशाना बनाएको बताए । नाकाबन्दीको सामना, गुमेको जमिनलाई नक्सामा गाभ्ने काम र मुलुकमा स्वाभिमान प्रदर्शन जस्ता काम एमालेले गरेकाले विदेशी शक्तिहरू एमाले र यसका नेतृत्वप्रति खनिएको उनले उल्लेख गरे ।

महासचिव पोखरेलले एमालेका मुल नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि बढेको हमलाको सशक्त प्रतिवाद गर्न सबैलाई निर्देशन दिए । उनले आज एउटा नेतालाई आक्रमण गर्ने शक्तिले भोलि अरूलाई पनि नछोड्ने भएकाले आजै यस्ता शक्तिहरूलाई निस्तेज पार्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा राजनीतिक धारणा राख्दा गाली र अपशब्दको सामना गर्नुपरेको भन्दै कतिपय एमाले नेता–कार्यकर्ताले व्यक्तिगत तस्बिरहरू मात्र पोस्ट गर्ने गरेकोमा उनले आपत्ति जनाए । ‘एमालेहरूले यसो गर्न सुहाउँदैन,’ उनले भने, ‘आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ।’ महासचिव पोखरेलले यस्ता आक्रमणबाट कति पनि हतोत्साहित नहुन कार्यकर्ताहरूलाई सम्झाए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै