ट्रेन्डिङ

मधेश प्रदेश सभा अनिश्चितकालका लागि स्थगित : बजेटमाथि जनमत पार्टीको असन्तुष्टि

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सरकारको आग्रहमा प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो। यो स्थगन प्रदेश सरकारले ल्याएको बजेटमा जनमत पार्टीका प्रदेश सभा सदस्यहरुको गम्भीर असन्तुष्टि बढेपछि आएको हो।

जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले बजेटमा आयोजनाहरु ‘तलमाथि’ पारिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुको असन्तुष्टिले गर्दा प्रदेश सभाको बैठक अवरुद्ध हुने सम्भावना बढेको थियो।

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशको बजेटमा राखिएका योजनाहरुप्रति सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले ‘बिचौलियाका योजनाहरू प्राथमिकतामा राखिएको’ र ‘जनमत पार्टीले सिफारिश गरेका दीर्घकालीन र भिजनरी योजनाहरू हटाइएको’ आरोप लगाएका छन्।

राउतले संघीयताको उपलब्धि ठूला पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘संघीयताको उपलब्धि भनेको प्रदेश अस्पताल वा रंगशालाजस्ता ठूला पूर्वाधार हुन्। तर मधेश प्रदेशमा दुर्भाग्यवश अहिले पनि ५–१० लाखका ताईँ–न–तूईँका टुक्रे योजनाहरूले रेडबुक भरिएको छ ।’

जनताको आवश्यकतालाई बुझेर तयार पारिएका योजनाहरू बजेटबाट हटाइएको र तीमध्ये थोरै योजनामा पनि नाम मात्रैको ५–१० लाख बजेट छुट्याइएको भन्दै उनले गुनासो पोखेका छन्। जनमत पार्टीकै नेतृत्वमा सरकार र आफ्नै मुख्यमन्त्री रहेको अवस्थामा पनि पार्टीको ‘भिजन रोडम्याप’ अनुसारका योजना बेवास्ता गरिनु दुर्भाग्यपूर्ण भएको डा. राउतले बताएका छन्।

जनमत पार्टीका प्रदेश सभा सदस्यहरु र डा. राउतको आक्रोश चर्किएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सक्रिय भएका छन्। उनले प्रदेशका सभामुख रामचन्द्र मण्डलसँग प्रदेश सभा स्थगित गर्न आग्रह गरेका थिए।

स्रोतका अनुसार, योजना वितरणमा अर्थमन्त्रीले आफ्नो गृह जिल्ला रौतहट र भौतिक पूर्वाधार मन्त्रीले आफ्नो गृहजिल्ला महोत्तरीमा धेरै योजना लगेको आरोप लागेको छ।

हाल जनमत पार्टीको संसदीय दलको बैठक बसेर यस विषयमा ठोस निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ। बजेटमा देखिएको यो विवादले मधेश प्रदेश सरकारभित्र ठूलो खटपट निम्त्याउने संकेत देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै