रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम सांस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला ‘आम प्रगतिवादी सांस्कृतिकर्मीहरू एक होऔं’ भन्ने नाराका साथ रौतहटको मौलापुर पार्कमा सम्पन्न भएको छ।
मधेश प्रदेश अध्यक्ष दिपलाल यादवको अध्यक्षतामा सम्पन्न भेलाले कलाकारहरूको हकअधिकारका लागि एकजुट भई संघर्ष गर्ने घोषणा गरेको छ। भेलाका प्रमुख अतिथि आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेश प्रदेशका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न जिल्लाबाट आएका सयौं कलाकारहरूलाई सम्बोधन गरे। उनले आम प्रगतिशील सांस्कृतिककर्मीहरूलाई आफ्नो हकअधिकारका लागि संघर्षमा उत्रिन आह्वान गरेका छन्।
भेलाले आम कलाकारका लागि पेन्सन र बिमाको व्यवस्था गर्न संघर्ष गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। साथै, कलाकारहरूको वर्गीकरण गरी योग्यताअनुसार राज्यबाट उचित सुविधा दिलाउनुपर्ने मागमा जोड दिएको छ।
आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव निर्विजले कलाकार क्षेत्रमा देखिएको सिन्डिकेट प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले आम सांस्कृतिककर्मीको सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार गरिने र आफ्ना मागहरूलाई राज्यबाट सम्बोधन गराउनका लागि अभियानको रूपमा संघर्षका कार्यक्रमहरू अगाडि बढाइने बताए।

भेलाले देशभर प्रस्तावित फिल्म सिटीहरूको निर्माण कार्य अगाडि बढाउन सरकारसँग माग गरेको छ। साथै, प्रत्येक जिल्लामा सुविधासम्पन्न नाटकघर निर्माणका लागि पहल गर्ने निर्णयसमेत गरेको इन्चार्ज यादवले जानकारी दिए।
आम सांस्कृतिक मोर्चाकी केन्द्रीय अध्यक्ष सरिता साहले मधेश सरकारले कलाकारप्रति कुनै वास्ता नगरेकोमा आपत्ति जनाइन्। उनले गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफ्नो भाइलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेकोमा घोर आपत्ति व्यक्त गरेकी छिन्।
भेलाले रौतहटको जिल्ला अध्यक्षमा नवीन पटेललाई चयन गरेको छ। यस अवसरमा मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साह, कलाकारहरू राजु राग्नी, नवीन पटेल, दिनेश यादव लगायत विभिन्न तहका कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको युवा कलाकार जितेन्द्र प्रजापतिले बताए।