ट्रेन्डिङ

गर्मीमा रगतको अभाव टार्न गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा आकस्मिक रक्तदान

वीरगन्ज । बढ्दो गर्मीसँगै वीरगन्जमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै गहवामाई तीर्थ क्षेत्र विकास समितिले आज गहवामाई मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

श्री गहवामाई रथयात्रा २०८२ को पूर्वसन्ध्यामा आयोजित यो कार्यक्रमले ‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशलाई पुनर्जीवित गरेको छ। नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्साले गरेको रगत अभावसम्बन्धी अपिललाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय समाजसेवी, श्रद्धालु, युवा र स्वास्थ्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो। गर्मीका कारण नियमित रक्तदाताहरूमा आएको कमीलाई पूर्ति गर्न यो पहल गरिएको समितिको भनाइ छ।

कार्यक्रममा ४ महिलासहित ४२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सुनिता गुप्ता, सम्भु साह, रवि कुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियारलगायतका व्यक्तिहरू सहभागी थिए।

नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सभापति बृज किशोर पटेल, रेडक्रस रेशमकोठिका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

रक्तसञ्चार सेवा केन्द्र, वीरगन्जका प्रमुख सौरभ राज पाण्डे र नितेश यादवले प्राविधिक सहयोग पुर्‍याएको यस कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए।

यो रक्तदान कार्यक्रमले वीरगन्ज क्षेत्रमा मानव सेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। गर्मीको समयमा रगतको आवश्यकता बढी हुने भएकाले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै