रौतहट । पूर्वमन्त्री तथा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार लुट र भ्रष्टाचारलाई संस्थागत गर्ने माध्यम बनेको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्।
उनले ओली सरकारलाई ‘गफाडीहरूको झुण्ड’ को संज्ञा दिँदै यसको लुट, भ्रष्टाचार र मनोमानी कर आतंकविरुद्ध सडकमा उत्रिन आम जनतालाई आह्वान गरेका छन्।
रौतहटको गुजरा नगरपालिकाको बलुवा टोलमा आज (बुधबार) आजपाले आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री ओलीले सुशासनको कुरा गरे पनि उनकै संरक्षणमा देशमा लुट र भ्रष्टाचारले जरो गाडेको आरोप लगाए।
नेता साहले देशमा बढ्दै गएको भ्रष्टाचार, कुशासन, लुट र सरकारपिच्छेको मनोमानी करले आम जनतामा निराशा र आक्रोश बढेको बताए। उनले नेपालमा प्राकृतिक सम्पदा प्रशस्त भए पनि नेतृत्वको कमजोरीका कारण देश समृद्ध हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
राजतन्त्र हटे पनि अहिले देशमा ‘छोटे राजाहरूको आतंक’ बढेको र यसले जनतालाई थप निराश बनाएको उनको भनाइ थियो। उनले भारत र चीनजस्ता ठूला देशमा सामान सस्तो हुँदा नेपालमा ‘करको पनि कर’का कारण सबै वस्तु महँगो भएको भन्दै यसको अन्त्यका लागि भ्रष्टाचारी नेता र सरकारविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए।