ट्रेन्डिङ

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब वृद्धि, कुन कामदारको कति पुग्यो पारिश्रमिक ?

वीरगन्ज । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि भएको छ।

सरकारले गत जेठमा गरेको निर्णय सोमबार राजपत्रमा प्रकाशित भएसँगै अब म्यानपावर कम्पनीहरूले तोकिएको नयाँ मापदण्डभन्दा कम तलबमा नेपाली कामदार पठाउन पाउने छैनन्।

यसअघि यूएईमा अदक्ष कामदारका लागि ८०० दिराम न्यूनतम पारिश्रमिक तोकिएकोमा अब यो बढेर न्यूनतम १ हजार दिराम पुगेको छ। यसमा मासिक खाना खर्च ४०० दिराम वा सोभन्दा बढी जोडेर अदक्ष कामदारले कूल १ हजार ४०० दिराम वा सोभन्दा बढी प्राप्त गर्नेछन्। राजपत्रमा प्रकाशित सूचना अनुसार, यसभन्दा कम सुविधाको मागपत्रलाई अब सरकारले प्रमाणीकरण गर्ने छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ तलबमानले विभिन्न सीप स्तरका कामदारहरूलाई समेटेको छ ।

अदक्ष कामदार : न्यूनतम पारिश्रमिक १,००० दिराम+ मासिक खाना खर्च ४०० दिराम (कुल १,४०० दिराम वा सोभन्दा माथि)
अर्धदक्ष कामदार : न्यूनतम पारिश्रमिक १,२०० दिराम+ मासिक खाना खर्च ४०० दिराम (कुल १,६०० दिराम वा सोभन्दा माथि)
दक्ष कामदार : न्यूनतम पारिश्रमिक १,५०० दिराम+ मासिक खाना खर्च ४०० दिराम (कुल १,९०० दिराम वा सोभन्दा माथि)
उच्च दक्ष कामदार : न्यूनतम पारिश्रमिक ६,००० दिराम+मासिक खाना खर्च ४०० दिराम (कुल ६,४०० दिराम वा सोभन्दा माथि)

यो निर्णयले यूएईमा काम गर्न जाने नेपाली श्रमिकहरूको आयमा सुधार ल्याउने र उनीहरूको आर्थिक अवस्थालाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ। सरकारको यो कदमले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै