ट्रेन्डिङ

जसपाको विधान संशोधनः केन्द्रीय समिति र सङ्घीय परिषद्को आकार बढ्यो

वीरगन्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो विधान संशोधन गरेको छ।

दुई दिनसम्म चलेको जसपाको सङ्घीय परिषद् बैठकले पार्टीको संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै केन्द्रीय समिति र सङ्घीय परिषद् सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको हो। २०८१ वैशाख २४ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राई नेतृत्वको टिमले जसपा गठन गरेको थियो। त्यसबेला हतारमा बनाइएको विधानमा अहिले केही संशोधन गरिएको पार्टीका महासचिव इस्तियाक राईले जानकारी दिएका छन्।

संशोधित विधानअनुसार, यसअघि १५१ सदस्यीय रहेको कार्यसमिति अब २५१ सदस्यीय हुनेछ। त्यस्तै, ४१३ सदस्यीय सङ्घीय परिषद्लाई विस्तार गरी ७०१ सदस्यीय बनाइएको छ। प्रदेश समितिको आकार पनि ५१ बाट ६७ सदस्यीय पुर्‍याइएको छ भने राष्ट्रिय समिति ३९ बाट ४५ सदस्यीय बनेको छ।

बैठकले विधानको अनुसूची ४ को धारा ८ मा पनि संशोधन गरेको छ। पार्टीको लोगोमा रहेको ‘अङ्कित मुठी’ चिन्हलाई चुनाव चिन्हजस्तै एकरूपता दिने निर्णय गरिएको महासचिव राईले बताए। संशोधित विधानलाई सङ्घीय परिषद्का अध्यक्षको संयोजकत्वमा केन्द्रीय समितिका अध्यक्ष र कार्यदलका संयोजक गरी पाँच सदस्यीय प्रमाणीकरण समितिले २१ दिनभित्र प्रमाणित गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै