ट्रेन्डिङ

प्रधानमन्त्रीले छलफलमा नआएर सिंगैं संसदको अपमान गर्नु भयो : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् ।

उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभागलगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्यसचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थअनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ । सरकार नै लागेको हामी हेर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसद्मा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए । प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे ।

उनले भने, ‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ? संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ । एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेशविपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनुहुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’

उनले अहिले देशमा उद्योगहरु बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ ।

उनले भने, ‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं । अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ । तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् । अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे ।

उनले सहकारी विकास मन्त्रालयको नाम र गरिमा ठूलो भएपनि काम भने केही नगरेकोमा बजेटप्रति असन्तुष्टि पोखे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै