वीरगन्ज। एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ।
ओपनर प्रसिद्ध जैसीको उत्कृष्ट अर्धशतकको मद्दतले नेपालले आइतबार भएको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो। सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाएर सहजै पूरा गर्यो। प्रसिद्ध जैसी ५५ रनमा अविजित रहँदै नेपाललाई जितसम्म डोहोर्याएका थिए। उनको पारीलाई रौनक श्रीवास्तवले ४० रनको महत्वपूर्ण योगदान दिएर साथ दिए। सिंगापुरका आकाश तेजाले ३ र युवान पाण्डेले १ विकेट लिएका थिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो। नेपालका कप्तान विपिन प्रसाद शर्माले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए भने सचिन भट्टले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट हात पारे। अभय यादव र शुभम खनालले समान १ विकेट लिए। सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन र ओपनर आहान भुथानदमले ३८ रन बनाएका थिए।
नेपालले अब आफ्नो दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ। यो जितले प्रतियोगितामा नेपालको मनोबल उच्च बनेको छ।