वीरगन्ज । मधेश प्रदेशप्रति बजेट विनियोजनमा भइरहेको विभेदपूर्ण व्यवहारले बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठ आक्रोशित भएका छन्।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्री–मन्त्रीबीचको अस्वस्थ प्रतिस्पर्धा र ठूला नेताहरूले आफ्नो क्षेत्रमा बजेट केन्द्रित गर्ने प्रवृत्तिले मधेशलाई अन्यायमा पारेको स्पष्ट पारेका छन्।
जनताले गाँस काटेर तिरेको करको गम्भीर दुरुपयोग भइरहेको भन्दै उनले यदि यस्तै रवैया जारी रहे, आगामी २०८४ सालको निर्वाचनमा जनताले उचित जवाफ दिने चेतावनीसमेत दिएका छन्। सांसद श्रेष्ठले तत्काल बजेटको न्यायोचित वितरणको माग गरेका छन्।
यसका साथै, उनले बाराको अमलेखगञ्ज जंगलमा बाघको आक्रमणबाट ज्यान गुमाएका ५० वर्षीय कृष्णबहादुर भोलनको परिवारलाई शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।