सिरहा । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादव यतिबेला सिरहा जिल्लाको विभिन्न स्थानमा जनतासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
मन्त्रालयका काम, योजना र प्राथमिकताका बारेमा जानकारी दिँदै मन्त्री यादवले जनताको सुझाव, गुनासो र धारणा सङ्कलन गरिरहेका छन्। मन्त्री यादवले सरकार जनता नै हो भन्ने कुरामा जोड दिँदै जनताको आवश्यकता र सन्देश नसुनी बनाइएका योजनाहरू व्यर्थ हुने बताएका छन्। उनले भने, ‘जनताको आवश्यकता र सन्देश सुनेर मात्र सही योजना बनाउन सकिन्छ। जनताको भावना नबुझी योजना बनाउनु व्यर्थ हुन्छ।’
जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले ‘सुझाव संकलन अभियान’ सञ्चालन गरिरहेको मन्त्री यादवले जानकारी दिए। यस अभियानअन्तर्गत स्थानीय बासिन्दासँग छलफल, संवाद र सुझावको अभिलेख राखिँदैछ।
मन्त्री यादवसँगै जनमत पार्टीका कार्यकर्ताहरू पनि यस अभियानमा सहभागी छन्। उनीहरूले जिल्लाको वातावरणीय समस्या, वन क्षेत्रको संरक्षण, नदी कटान, वन पैदावारको व्यवस्थापनलगायतका विषयमा स्थानीयको धारणा बुझिरहेका छन्।
यस क्रममा जनताले खेतीयोग्य जमिनको सुरक्षा, हरियाली विस्तार, चरिचरनको व्यवस्थापन र वृक्षारोपण कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा महत्त्वपूर्ण सुझावहरू दिएका छन्। मन्त्री यादवले सङ्कलित यी सुझावहरूलाई मन्त्रालयको आगामी नीति, योजना र बजेट निर्माणमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अभियानले मधेश प्रदेश सरकारलाई जनमुखी नीति बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।